उर्लाबारी , माघ १६
दलित समुदायको सशक्तीकरण, सामाजिक न्याय र समावेशी नेतृत्व निर्माणका लागि हरेक वर्ष देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छन्। तर, यस्ता कार्यक्रमले दलित समुदायका वास्तविक एजेन्डालाई कत्तिको प्रभावकारी रूपमा सम्बोधन गरिरहेका छन् भन्ने विषयमा निरन्तर प्रश्न उठ्दै आएको छ।
यसै सन्दर्भमा, नगरस्तरीय दलित समन्वय समिति, उर्लाबारीको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहकार्यमा उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु भएको छ। माघ १६ देखि १९ गतेसम्म सञ्चालन हुने यो तालिमको उद्देश्य दलित अगुवाहरूलाई प्रभावकारी रूपमा अभिव्यक्ति दिन सक्षम बनाउने बताइएको छ। तर, यस्ता कार्यक्रम वर्षेनी सञ्चालन भइरहे पनि यसको प्रत्यक्ष प्रभाव समाजमा देखिन सकेको छैन। स्रोतका अनुसार, नगर समितिका केही सीमित व्यक्तिहरूको सहभागितामा उक्त कार्यक्रम संचालन भैइरहेको छ।जस्ले गर्दा समग्र दलित समुदायका वास्तविक एजेन्डा ओझेलमा पर्ने गरेको स्थानीय युवाहरू बताउँछन्।
उद्घोषण तथा माइन्युट लेखन जस्ता सिपहरू उपयोगी भए पनि दलित समुदायको सशक्तीकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक छन्। कानुनी सचेतना, उद्यमशीलता, सीपमूलक तालिमहरू तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रमहरूमा जोड दिनु अहिलेको आवश्यकता भएपनि यस्ता अनुत्पादक क्षेत्रमा लाखौ खर्च भैरहेको छ। केवल औपचारिकता पूरा गर्ने नाममा सीमित व्यक्तिहरूलाई मात्र समेटेर हुने कार्यक्रमहरूबाट समुदायको समग्र विकास सम्भव छैन।
समग्र दलित समुदायको विकास र सशक्तीकरणका सवालमा उर्लाबारी नगरपालिका पछि परिरहेको देखिन्छ। नीति निर्माणदेखि कार्यान्वयनसम्म दलित समुदायको वास्तविक अवस्थालाई सम्बोधन गर्न सक्ने प्रभावकारी पहलहरु नगरपालिकाबाट हुन सकेका छैनन्। सशक्त दलित समुदाय निर्माणका लागि दीर्घकालीन सुधारका कार्यक्रमहरू, व्यावहारिक सीप विकास, कानुनी शिक्षा र आर्थिक सशक्तीकरणका क्षेत्रमा लगानी गर्न स्थानीय सरकार अझै पछि परेको देखिन्छ।
समुदायका नेताहरू तयार गर्ने भन्दै आयोजना गरिने यस्ता तालिमहरू केवल बजेट खर्च गर्नका लागि मात्र हुन् कि साँच्चै परिवर्तन ल्याउने साधन, यो विषयमा गम्भीर छलफल आवश्यक छ। दलित समुदायको वास्तविक सशक्तीकरणका लागि प्रभावकारी नीति, समावेशी कार्यक्रम र ठोस कार्ययोजनाको आवश्यकता रहेको आवाज उठ्न थालेको छ।