 
							
							२३ असार, घोराही
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, जिल्ला कार्य समिति दाङले विद्यालय ड्रेसको खरिद–बिक्रीमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, अनियमितता, र व्यावसायिक नोक्सानीका विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
संघका अध्यक्ष पदम नेपाली र सचिव फत्ते बहादुर परियारको नेतृत्वमा बुझाइएको उक्त ज्ञापनपत्रमा कक्षा ११ भर्नाको समयसँगै ड्रेसको माग बढ्ने बेला केही विद्यालयले विद्यार्थी र अभिभावकमाथि तोकिएको व्यवसायिक केन्द्रबाट मात्र ड्रेस खरिद गर्न दबाब दिने गरेको उल्लेख छ।
संघले यस्तो कार्यले व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै उपभोक्तामा आर्थिक भार पर्ने बताउँदै, “विद्यालयहरूले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९” को दफा ४.७.१३ को उल्लंघन गरिरहेको” गम्भीर चिन्ता व्यक्त गरेको छ। सो दफामा विद्यालयहरूले ड्रेसको नमुना मात्र उपलब्ध गराउनु पर्ने र विद्यार्थीलाई तोकिएको स्थानमा पोशाक किन्ने बाध्यता नदिनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।
त्यस्तै, संघले दर्ताविना सञ्चालनमा रहेका व्यवसायहरू र घुमन्ते व्यापारीहरूका कारण वैध व्यवसायीहरू मारमा परेको भन्दै राज्यलाई गम्भीर ध्यान दिन आग्रह गरेको छ। ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, “देशको आर्थिक क्षेत्रमा दीर्घकालीन असर नपरोस् भन्ने हेतुले राज्य र सरोकार निकायहरू समयमै जागरुक हुन जरुरी छ।”
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले व्यवसायी तथा उपभोक्ताको जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा प्रशासनको गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिनुभएको छ।


 
								 
															 
															 
															 
															 
															 
															 
											 
											 
											 
											 
											 
											 
								 
								 
								 
								