
उदयपुर — राष्ट्रिय दलित पत्रकार संघ नेपाल, कोशी प्रदेश समितिले कान्तिपुर दैनिकका उदयपुर संवाददाता तथा संघका सचिव राकेश नेपालीमाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।
संघद्वारा जारी विज्ञप्तिमा २०८२ साल श्रावण १७ गते त्रियुगा नगरपालिका–३ स्थित होटल इम्पायर इनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम त्रियुगा नगर अधिवेशनको समाचार सङ्कलनको क्रममा पत्रकार नेपालीमाथि दुर्व्यवहार भएको जनाइएको छ।
विज्ञप्तिअनुसार अधिवेशन स्थलमा समाचार सङ्कलन गरिरहेका पत्रकार नेपालीको क्यामेरा खोस्दै फोटो खिच्न अवरोध पुर्याइएको र उक्त कार्य रास्वपाकी नेतृ सरिन तामाडले गरेको आरोप छ। घटनाप्रति संघले गम्भीर खेद व्यक्त गर्दै कडा शब्दमा भर्त्सना गरेको छ।
“आयोजककै निमन्त्रणामा समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो,” विज्ञप्तिमा उल्लेख छ, “यसले पत्रकारलाई हतोत्साहित गर्नुका साथै संविधानले सुनिश्चित गरेका अधिकारमाथि प्रत्यक्ष प्रहार गरेको छ।”
संघका अध्यक्ष किशोर विश्वकर्माले प्रेस स्वतन्त्रतामाथिको यस्तो गैरजिम्मेवारपूर्ण कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै, भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भनी संघले कडा चेतावनीसमेत दिएको छ।
विज्ञप्तिमा उपाध्यक्ष अनिता रसाइली, मेनुका विश्वकर्मा, सचिव मण्डलसहित अन्य पदाधिकारीहरूको संयुक्त समर्थन रहेको उल्लेख गरिएको छ।