मोरङको उर्लाबारी–२ स्थित बेतिनी सिमसार पर्यटकीय क्षेत्रमा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक पर्यटकहरुको दैनिक लर्को लाग्न थालेको छ ।
कोशी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्यका रुपमा रहेको बेतिनी सिमसारमा आन्तरिक पर्यटकहरुको दैनिक लर्को लाग्न थालेको हो । बेतिनी सामुदायिक वनको हाताभित्र पर्ने पर्यटकीय क्षेत्रमा भिडभाड हुने गरेको सदस्य मिलन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार वनभोज खानेको टोली शनिबारको दिन ७० वटासम्म आउने गरेका छन् । बेतिनी सिमसार क्षेत्रमा अवलोकन गर्न र वनभोज खानका लागि इलाम, मोरङ, सुनसरीलगायतका स्थानबाट पर्यटक आउने गरेका छन् । वनभोज खान आउनेबाट १ हजार शुल्क लिने गरेको कोषाध्यक्ष अर्जुन बास्तोलाले बताउनुभयो ।