मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले मिति २०६५।०८।२३ गते नेपाल सरकार वन तथा भूसंरक्षण मन्त्रालयसँग सम्झौता गरी भाडामा लिएको भनिएको उर्लाबारी नगरपालिका वडा नं. ३ अन्तर्गत पूर्वमा चन्दने वस्ती जाने पूर्व तर्फको बाटो, पश्चिममा हाल मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको कार्यलय र शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको क्षेत्र, उत्तरमा महेन्द्र राजमार्ग र इलाका वन कार्यलय भन्दा दक्षिण, दक्षिणमा चन्दने बस्ती यति चार किल्ला भित्र रहेको १३ हेक्टर जमिन घेरी राखेको कम्पाउण्ड गेटमा मङ्गलबारे युवा क्लबले तालाबन्दी गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीको गम्भिर ध्यानाकर्षण भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले भाडामा लिनु भन्दा अगाडि सो स्थान खेलमैदानको रुपमा प्रयोग भइरहेको विषय सम्वन्धित सबैलाई अवगत नै छ । हाल उक्त क्षेत्र वरिपरी खेल खेल्नको लागि पर्याप्त स्थान नभएको र त्यसको उपयुक्त विकल्प अन्य क्षेत्र समेत नहुने तथा प्रतिष्ठानले समेत अपेक्षाकृत रुपमा उक्त जमिनको प्रयोग गर्न नसकेको महसुस भै विगत केही समयदेखि मङ्गलबारे युवा क्लब साथसाथै स्थानीय युवाहरूले उक्त क्षेत्रको कुनै एक भूभागलाई खेलमैदानको रुपमा प्रयोग गर्न दिनको लागि सम्बन्धित निकायहरूसँग माग गर्दै ध्यानाकर्षण गराइरहेको तर त्यस तर्फ कुनैपनि निकाय गम्भिर नभएकोले बाध्य भएर मङ्गलबारे युवा क्लबको नेतृत्वमा मिति २०८०।१०।१२ गते उक्त गेटमा तालाबन्दी गरेको र ७ दिन भित्र कुनै छलफल तथा निकास ननिस्किएमा थप विरोधको कार्यक्रम गर्ने भन्ने निर्णय भएको बुझिएको हुँदा दुई पक्ष बिचको असमझदारीले भोलिको दिनमा उत्पन्न हुन सक्ने जोखिमप्रति संवेदनशिल हुँदै समयमा छलफल मार्फत समस्याको समाधान गर्न सम्बन्धित सबै सरोकारवालाहरूसँग आग्रह गर्दै मङ्गलबारे युवा क्लबले उठाएका जायज माग प्रति राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी ऐक्यवद्धता जाहेर गर्दछ ।
नगरक्षेत्र भित्रका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पतिहरुको रेखदेख तथा अन्य प्रबन्ध गर्ने साथसाथै, खेलकुद पूर्वाधार विकास गर्ने दायित्व स्थानीय सरकारको भएको हुँदा नेपाल सरकार वन तथा भूसंरक्षण मन्त्रालयसँग भएको सम्झौता तथा सो समयमा स्थानीय समुदायसँग गरिएको प्रतिवद्धता बमोजिम उक्त क्षेत्रमा काम भएनभएको अनुगमन गरी सम्झौता बमोजिम नभएको पाइएमा सम्झौता खारेज गराई स्थानियको माग बमोजिम सो जमिनलाई खेलमैदानको रुपमा पूर्वाधार विकास तथा स्थानियको आयआर्जन हुने किसमले उद्यमको विकास गर्न स्थानीय सरकारसँग जोडदार माग गर्दछौँ ।