उर्लाबारी २१ माघ
उर्लाबारीमा नगर स्तरीय खेलकुद महोत्सव राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट सुरु भएको छ । उर्लाबारी नगरपालिकाको आयोजना र राधिका मावि उर्लाबारी–६ को व्यवस्थापनमा सुरु प्रतियोगिताको आज पहिलो दिन छ वटा विधाको फाइनल सम्पन्न भएको छ ।
पहिलो दिन राधिका मावि उर्लाबारी–६ ले दुई स्वर्ण हात पारेको छ भने, लक्ष्मी मावि उर्लाबारी–८ ले १ स्वर्ण दुई रजत, सार्वजनिक मावि, लक्ष्मी मावि उर्लाबारी–१ र सुनझोडा माविले १÷१ स्वर्ण जितेका छन् । यस्तै, दुर्गा माविले २ रजत, सुनपकुवा र अरनिको माविले समान १ रजत र २ कास्य तथा शारदा माविले २ कास्य पदक हात पारेको राधिका मावि उर्लाबारी–६ का सूचना अधिकारी ऋषिकेश खनालले जानकारी दिनुभयो ।
आज तथा छात्रा १०० मिटर, १५०० मिटर दौड साथै छेलोको फाइनल सम्पन्न भएको हो । छेलोमा छात्रतर्फ राधिका मावि उर्लाबारी–६ का नरेन्द्रप्रसाद लुइटेल प्रथम, अरनिको माविका मणि झाँगड दोस्रो र शारदा माविका टेकबहादुर विक तेस्रो हुँदा छात्रातर्फ लक्ष्मी मावि उर्लाबारी–१ की मिसिका धिमाल प्रथम, लक्ष्मी मावि उर्लाबारी–८ की राधा धिमाल दोस्रो र अरनिको माविकी कला रुचाल तेस्रो भए ।
यस्तै, १०० मिटर दौड छात्रतर्फ राधिका मावि उर्लाबारी–६ का भिजन खड्का प्रथम, दुर्गा माविका प्रशान्त थापा दोस्रो र सुनपकुवा माविका मौसम लिम्बू तेस्रो भए भने छात्रातर्फ सुनझोडा माविकी मेनुका दर्जी प्रथम, लक्ष्मी मावि उर्लाबारी–८ की सुस्मिता विक दोस्रो र सुनपकुवा माविकी अस्मि धमला तेस्रो भए । १५०० मिटर दौडको छात्रतर्फ सार्वजनिक माविका अर्पण आचार्य, दुर्गा माविका रिदेश राय र शारदा माविका साजन राय तथा छात्रातर्फ लक्ष्मी मावि उर्लाबारी–८ की मन्दिरा महतारा, सुनपकुवा माविकी देविका मगर र अरनिको माविकी प्रेमिसा रसाइलीले क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान हात पारे ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षता र प्रदेश सांसद उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमा प्रदेश सांसदहरु शोभा चेम्जोङ पालुङ्वा र विद्या चाम्लिङ नगर उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्षहरुलगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा उर्लाबारीका २१ विद्यालयले सहभागिता जनाएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव तथा राधिका माविका प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी खेल भइरहेका छन् । यस्तै, एथ्लेटिक्समा ट्रयाकतर्फ छात्र तथा छात्रा २००, ४००, ८००, ३००० मिटर रेस, ४ गुना १०० र ४ गुना ४०० मिटर रिलेमा प्रतिस्पर्धा हुन बाँकी छ । यस्तै, उफ्रने र फ्याँक्ने फिल्डतर्फ छात्र तथा छात्रा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रोका खेल हुनेछन् । मार्शल आर्टमा छात्रतर्फ ४२, ४७, ५२, ५७ र ६२ केजी तथा छात्रातर्फ ४०, ४५, ५०, ५५ र ६० केजी समूहमा एकल काँता प्रतिस्पर्धा हुने जनाइएको छ ।