उर्लाबारी
उर्लाबारी नगरपालिकाले दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । नगरपालिकाको ११ औं नगरसभाको अवसरमा उर्लाबारी–१ स्थित सिद्धार्थ एग्रीगेट प्रालि र उर्लाबारी–४ निवासी मिश्र वैजयन्तीलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०७८ – ०७९ देखि हालसम्म नियमित र सबैभन्दा बढी कर तिरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।
सबैभन्दा बढी व्यवसायिक कर तिर्ने युवा व्यवसायी सचिन शाक्य अध्यक्ष रहेको सिद्धार्थ एग्रीगेट प्रालि र सबैभन्दा बढी घरबाहल कर तिर्ने सप्तकोशी आमावि उर्लाबारीकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिश्र वैजयन्ती सम्मानित हुनुभएको हो । नगरसभाको अवसरमा सप्तकोशी आमाविकी मिश्र वैजयन्ती र सिद्धार्थ एग्रीगेटका प्रतिनिधि सुवास शाक्यलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले दोसल्ला, माला लगाएर प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।
सिद्धार्थ एग्रिगेटले क्रसर उद्योग सञ्चालन गरी बालुवा, गिटी, पेबल्सलगायतका निर्माण सामग्रीहरू उत्पादन गर्दै आएको छ । सप्तकोशी आमावि गुणस्तरीय शिक्षा प्रदान गर्ने उर्लाबारीको नेतृत्वदायी निजी विद्यालय हो । करप्रति नागरिकको उत्साह बढाउन सम्मान गरेको नगरपालिकाले जानकारी दिएको छ । करदातालाई सम्मान गर्दा कर तिर्नुपर्ने आवश्यकता नगरवासीले महशुस गर्ने अपेक्षा लिइएको नगरप्रमुख खरेलले बताउनुभयो । उर्लाबारी नगरपालिकाका सबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेको उहाँको भनाइ छ ।
All reactions:
Jagannath, Suman and 3 others