उर्लाबारी
मोरङको उर्लाबारीबाट रोजगारीको सिलसिलामा हङकङ पुगेका युवाले जन्मथलोका बासिन्दालाई अस्पतालसम्म जान आउन एम्बुलेन्स प्रदान गरेका छन्। उर्लाबारी नगरपालिकाबाट हङकङ पुगेका परिवारले २५ लाख ५० हजार रुपैयाँ संकलन गरी पठाएको रकमले खरिद गरेको एम्बुलेन्स नगरको वडा नं.९ ले सञ्चालन गर्न थालेको छ। माघ १४ गते बाट एम्बुलेन्स सेवा सुरु गरिएको वडाध्यक्ष नरबहादुर मोक्तानले बताए। मोक्तानका अनुसार एम्बुलेन्सले विपन्न परिवारलाई नि:शुल्क सेवा दिनेछ। नगरले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको छ।
कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरिनेछ। परिचय प्राप्त गर्नेलाई नि:शुल्क र अरु सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिइने छ। एम्बुलेन्स खरिदका लागि हाल हङकङमा रहेका उर्लाबारी-९ का याम सेम्बुले ५ लाख ३० हजार १ सय ७६ रूपैयाँ सहयोग गरे। सेम्बु र साङ्गेहाङ्ग तुम्बाहाम्फेको सक्रियतामा एम्बुलेन्स खरिद गर्ने रकम जुटको हो। एम्बुलेन्सको चालक र इन्धन खर्च उर्लाबारी नगरपालिकाले ब्यहोर्ने छ। एम्बुलेन्स सन्चालनमा आएपछि स्थानिय हर्षित भएका छन्। स्थानीय मिना खवासले वडामा एम्बुलेन्स सञ्चालनमा आएकोमा खुसी व्यक्त गरिन्। सहयोगीमध्येका एक याम सेम्बुले आफूहरू जहा भएपछि गाउँको समस्यामा चिन्तित रहने गरेको बताए। गाउँको समस्यालाई आफ्नै समस्या ठान्दै एम्बुलेन्स सहयोग गरेको बताए। अर्का सहयोगी साङ्गेहाङ तुम्बाहाम्फेले आफ्नो गाउँ ठाउँको दु:खसुख थाहा भएकाले एम्बुलेन्स सहयोग गर्दा विपन्न परिवारलाई राहत मिल्ने कुरामा विश्वस्त रहेको बताए।