उर्लाबारी ३ माघ
उर्लाबारी नगरपालिकाको ११ औं नगरसभाको अवसरमा उत्कृष्ट करदाता सम्मान हचुवाको भरमा गरेको भन्दै पूर्वेली क्रसर उद्योगले विरोध जनाएको छ । २०७८÷०७९ देखि हालसम्म नियमित र सबैभन्दा कर तिर्नेहरुमध्येबाट उर्लाबारी–१ स्थित सिद्धार्थ एग्रीगेट प्रालि र उर्लाबारी–४ निवासी मिश्र वैजयन्तीलाई सम्मान गरेको थियो । उर्लाबारी–१ मै सञ्चालनमा रहेको पूर्वेली क्रसर उद्योगले नगरपालिकाको उक्त कदमको विरोध जनाउँदै हचुवाको भरमा निर्णय गरेर ब्यवसायीहरुलाई निरुत्साहित गर्ने काम भएको सञ्चालक ध्रुबचन्द्र पराजुलीले बताउनुभयो । उहाँका अनुसार पूर्वेलीले नियमित र सबैभन्दा बढी कर तिरेको छ । २०७९ भदौ २३ गते ३ लाख, भदौं २९ गते ५८ हजार, २०८० असार १७ गते २ लाख ९० हजार ४ सय ५० रुपैयाँ र असार २२ गते ३ लाख ८४ हजार १२ रुपैयाँ कर तिरेको उहाँले जानकारी दिनुभयो । दुई बर्षको अन्तरालमा नियमित र सबैभन्दा बढी कर आफुहरुले तिरेको भएपनि हचुवाको भरमा नगरपालिकाले निर्णय गरेको उहाँले आरोप लगाउनुभयो । ‘करदाताहरुलाई प्रोत्साहन गर्न सम्मान गर्नु स्वागत योग्य काम भएपनि हचुवाको भरमा निर्णय गर्ने काम भएको छ’ उहाँले भन्नुभयो–‘ गलत निर्णय सच्याउन सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’ उर्लाबारीमा ३ वटा क्रसर उद्योग रहेका छन् । यस विषयमा उर्लाबारी नगरपालिका सूचना अधिकारीलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।