
उर्लाबारी ।
दिपेन्द्रबहादुर बराईली
मोरङको उर्लाबारी–४ स्थित कात्यानी हेरिटेज होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका प्रार्थना रि–ट्रिटका सञ्चालक रविन गुरुङलाई ५ दिनको म्याद थप गरिएको छ । उर्लाबारी–५ का ४१ बर्षीय गुरुङलाई मंगलबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिहेको उर्लाबारी प्रहरीले जनाएको छ । फागुन ६ गते बिहान ८ बजेको समयमा उर्लाबारी–४ का नवराज भट्टराईको गाई गोठमा अर्धचेत अबस्थामा पीडित किशोरी सांकेतिक नाम २०८० उर्लाबारी ६ (क) फेला परेकी थिइन् । मदिरा सेवन गराई ती किशोरीलाई कात्यानी हेरिटेज होटलमा गुरुङले बलात्कार गरेको आरोप लागेको छ । फागुन ५ गते राती अन्दाजी २३ः३० बजेको समयमा गुरुङले सो होटलमा लगेर जबरजस्ती करणी गरेको र पीडित घटनास्थलबाट भागेर घटनास्थल नजिकैको गाईगोठमा राती लुकी ज्यान जोगाएको किशोरीको भनाई उद्धत गर्दै उर्लाबारी प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीलाई कानुन बमोजिम कार्वाही हुने प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ ले बलात्कारमा कसुर सजायको व्यवस्था गरिएको छ । जसअनुसार जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुनेछ । दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण असक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद हुन्छ । १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्ष कैद हुने ब्यवस्था छ । १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्ष कैदको ब्यवस्था छ । १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम भए १० वर्षदेखि १२ वर्ष कैद र १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी भए सातदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ । यसैगरी वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने व्यवस्था छ ।