
उर्लाबारी, उर्लाबारीको कृष्ण चौक –सुनझोडा चारलेन निर्माणाधिन सडकको भौतिक प्रगति बारे विश्व बैंकको प्रतिनिधि मण्डलले उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलसंग भेटघाट साथै जनप्रतिनिधि तथा कर्मचारीसंग अन्तरक्रिया गरेको छ । मेयर खरेलले नगरपालिकाको कार्यकक्षमा विश्व बैंक र शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिलाई स्वागत गर्नुभयो । बुधबार भएको अन्तरक्रियामा विश्व बैंक र नगरपालिकाले निर्धारित समयभित्रै सडक निर्माणलाई परिणममुखी बनाउने, अन्य आयोजनाको सम्भाव्यता अध्ययनलगायत बिषयमा द्वीपक्षीय छलफल भएको थियो ।
विश्व बैंकको कुल ४२ करोड ५७ लाख आर्थिक सहयोगमा सडक निर्माणले गति लिएको छ । स्थानीय सुशासनमा प्रतिबद्धता जनाउदै मेयर खरेलले उलाृबारीको आर्थिक विकासका लागि विश्व बैंकको सहयोग अतुलनीय अवसर भएको बताउनुभयो । मेयर खरेलको भनाइ थियो, ‘हामी हाम्रा प्राथमिकता निर्धारण गर्छौं । जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना नै हाम्रा प्राथमिकतामा रहनेछन् ।’ यस्तै, विश्व बैंकका नेपालस्थित टिम लिडर अभिवाहुले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउनुहुँदै ती अनुभव नेपालको ग्रामीण विकासमा उपयोगी हुने बताउनुभयो । अभिवाहुले भन्नुभयो, ‘हामी पूर्वाधार विकासमा केन्द्रित हुन्छौं र स्थानीय सरकारसंग हातेमालो गरी काम गछौं । तपाईहरुको प्रगति नै हाम्रो प्रगति हो ।’ नगरपालिकामा भएको भेटघाट तथा छलफलपछि सडक निर्माणको अनुगमन तथा निरीक्षण गरिएको थियो । अनुगमन तथा छलफलमा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला, प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरे, नगरपालिकाका वडाध्यक्षहरु, इन्जिनियरहरु साथै, विश्व बैंकका टिम लिडर अभिवाहु, विज्ञहरु मनोजकुमार लाल, सुदर्शनलाल श्रेष्ठ, सगुन पराजुली, शहरी विकास तथा भवन निर्माण विभागका सुदीप श्रेष्ठ, प्रकाश पाण्डे, रञ्जन सुवाल, विनोद न्यौपाने, डिएससीका राजन श्रेष्ठ, भवानीप्रसाद सिंह, जीवनकुमार कोइराला, निर्माण कम्पनीका अर्जुन तुम्रोकलगायतको सहभागिता रहेको थियो ।