
दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारीमा सम्पन्न भएको पाँचौ संस्करणको उर्लाबारी मेयरकप फुटबलको उपाधि वडा नम्बर ६ को टीमले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा वडा नम्बर ३ लाई ०-१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ विजयी भएको हो । खेलको ६८ औँ मिनेटमा वडा नम्बर ६ का विशाल तामाङ्ले एक गोल गरेका थिए । उनको सो गोल नै प्रतियोगिताको निर्णायक गोल बनेको थियो ।
जितसँगै विजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको विजेता टिमलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र उर्लाबारी नगरका प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडा पौडेलले प्रदान गरेका थिए ।
उर्लाबारी फुटबल क्लबको आयोजनामा गत फागुन २५ गतेदेखी सुरु भएको उक्त प्रतियोगीतामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको थियो ।
उर्लाबारी-६ स्थित राधिका माविको खेल मैदानमा आज भएको फाईनल खेलमा उपविजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्ने तयारी भएतापनि प्रतियोगीताको अन्त्यमा विवाद सिर्जना भएपछि उपविजेता बनेको वडा नम्बर ३ को टीमले पुरस्कार बहिस्कार गरेको थियो ।
सो खेलको निर्धारित समय सकिएपछि रेफ्रीले उपविजेता टीमका एक खेलाडीलाई अपशब्द बोलेकोले विवाद सिर्जना भएको वडा नम्बर ३ का टीम कोच आयुष पुरीले बताए । उनका अनुसार रेफ्री मनोज तामाङ्ले खेलाडी विदुर रिजाललाई अपशब्द बोलेकोले विवाद सिर्जना भएको थियो ।
शनिबार साँझसम्म सो विवाद समाधान गर्न आयोजक क्लब, जनप्रतिनिधी, स्थानिय प्रशासन र स्थानियहरुको संयुक्त प्रयास असफल भएपछि उपविजेता बनेको वडा नम्बर ३ को टीमले पुरस्कार बहिस्कार गर्दै खाली हात फर्किएको छ ।
यता रेफ्री मनोज तामाङ्ले भने आफुले रिजाललाई कुनै अपशब्द नबोलेको बताउदै अफवाह फैलाएर प्रतियोगिता विवादास्पद बनाउन खोजेको बताए । उनले भने,” विदुर मेरो भाई हो, उसँग मेरो राम्रो सम्बन्ध छ, उनलाई मैले अपशब्द बोल्न सक्दिन र बोलेको पनि छैन ।”
यता आयोजकले भने यत्रो विवादका बाबजुद समेत पुरस्कार वितरण गरेको छ । प्रतियोगीतामा विजेता टीमका रुद्र कार्की म्यान अफ दी म्याच घोषित भए । यस्तै विजेता टीमका असिम खड्का र एकराज बुढाथोकी क्रमशः वेष्ट गोल रक्षक र सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरु नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत भए ।
यता उपविजेता टीमका संजिव राई, करण थापा र समिर तामाङ् क्रमश: वेष्ट फरवार्ड, वेष्ट मिडफिल्डर र वेष्ट डिफेन्स घोषित भए । सो विवादको कारण देखाउदै उपविजेता टीमले सम्पुर्ण पुरस्कार बहिस्कार गरेका छन् ।
यता आयोजक क्लवका सचिव घनश्याम भण्डारीले खेल समाप्तपछि उत्पन्न भएको विवादमा आयोजक जिम्मेवार नहुने बताए । उनले फोन सम्पर्कमा भने,” खेलको नतिजा पछाडी कसैको व्यक्तिगत कारणले विवाद उत्पन्न भएको देखिन्छ, हामीले समन्वय गरी विवाद समाधान गर्न खोजेतापनि हाम्रो प्रयास सफल भएन । यतिकै प्रतियोगीता र आयोजकलाई विवादास्पद बनाउन खोजियो । “
यस्तै उनले सो विवाद खेल अवधीभित्र उत्पन्न नभई खेल समाप्तपछि उत्पन्न भएकोले आयोजक जिम्मेवार नहुने जनाउदै प्रतियोगिताको पुरस्कार वितरण गरिएको बताए ।
उनका अनुसार उपविजेता टीमको पुरस्कार हाल आयोजकले नै राखेतापनि केहि दिनमै सो पुरस्कार उर्लाबारी नगर खेलकुद विकास समितीलाई हस्तान्तरण गरिनेछ ।