उर्लाबारी
मोरङको उर्लाबारीमा अवस्थित आकार फाउण्डेशन तथा रोटरी क्लव उर्लाबारीको आयोजनामा विश्व अटिजम जागरुकता दिवस भब्यरुपमा मनाईएको छ ।
उर्लाबारी–५ मा फाउण्डेशनको प्राङणमा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा फाउण्डेशनकी संस्थापक निर्देशक आशिष (प्रिशिमा) थापाले आकार फाउण्डेशनको बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख अतिथि प्रदेश सांसद गौतमले फाउण्डेशनले उत्कृष्ट काम गरिरहेको उल्लेख गर्दै आफ्नो तर्फबाट आगामी दिनमा साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो । अटिजमका बारेमा समाजमा गलत धारणा रहेको बताउँदै उहाँले त्यसलाई चिर्न आवश्यक रहेको औलाउनुभयो ।
अटिजमको समस्या भएका बालबालिकाको विशेष स्याहार गर्नुका साथै अटिजमको बारेमा सचेतना दिने उद्देश्यले हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाउने गरिएको फाउण्डेशनकी संस्थापक निर्देशक आशिष (प्रिशिमा) थापाले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि विश्व अटिजम जागरुकता दिवसका रूपमा मनाउन थालिएको उहाँको भनाई छ ।
अटिजमको लक्षणहरु प्रायः जन्म भएको तीन वर्ष भित्रै बच्चाहरुमा देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डिसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटीभन्दा केटाहरुमा चार गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिने बताइएको छ । अटिजम भएका व्यक्तीहरुलाई सामाजिक रुपमा घुलमिल हुन, सञ्चारको बिचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाई, खेलहरु खेल्न नजान्ने जस्ता समस्याहरु देखा पर्छन् ।
अटिजम भएका व्यक्तिहरुमा रहने इन्द्रियहरुको उतारचढावको फलस्वरुप अटिजम भएका व्यक्तिले आफूसँगको वातावरण, व्यक्ति र बस्तुप्रति भिन्दै प्रतिक्रिया देखाउँछ, जुन अस्वीकृत र असमानरुपमा देखा पर्छ । अटिजमको प्रसार बढ्दो छ, हरेक ८८ जनामध्ये एक बालबालिकामा देखा पर्ने अटिजमको निदान हुने प्रमाणित भएको छ । अटिजम एउटा रोग नभएर मस्तिष्कको विशेष अवस्था हो । अनुसन्धानको क्रममा यससँग सम्बन्धित धेरै पक्षले नौलो मोड लिएको छ ।
कार्यक्रममा अभिभावक, सामाजिक ब्यक्तित्वहरुलगायतको सहभागिता रहेको थियो । फाउडेशनमा रहेका बालबालिका तथा कर्मचारीहरुले नृत्य, फेशन शोलगायत प्रस्तुत गरेका थिए । फाउडेशनमा ६५ जना अटिजम भएका बालबालिकाहरु रहेका छन् । कार्यक्रम सञ्चालन सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष घनश्याम भण्डारीले सञ्चालन गर्नुभएको थियो ।