राष्ट्रिय दलित पत्रकार संघ कोशीको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा किशोर विश्वकर्मा चयन

२०८१ पुष २७, शनिबार
पढ्ने समय : 2 मिनेट

धनकुटा, पौष – २८

राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेश समितिको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

पौष २६ र २७ गते धनकुटाको छथरजोरपाटी गाउँपालिकामा सम्पन्न अधिवेशनले किशोर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

अधिवेशनले अनिता रसाइली र मेनुका विश्वकर्मालाई उपाध्यक्षमा चयन गरेको छ भने राकेश नेपाली सचिवमा, मिन्टु दास सहसचिवमा, र लिला घिमिरेलाई कोषाध्यक्षमा चयन गरेको छ। समितिको सदस्यमा खेममाया शिवा, चिरञ्जीवी शंकर, आयुष्मा शंकर, सुनिता रसाइली, नरेष खाती, र भुपाल सुर्खेती चयन भएका छन्।


यस अधिवेशनले दलित समुदायका समस्या र मुद्दालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। नवगठित कार्यसमितिले समुदायका समस्याहरूको सम्बोधन गर्न र सामाजिक न्याय सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने लक्ष्य राखेको छ।

कार्यक्रममा सहभागीहरूले दलित समुदायका पत्रकारहरूलाई मिडियामा थप सक्रिय र प्रभावकारी बनाउने आवश्यकतामा जोड दिएका छन्। पत्रकारिता क्षेत्रबाट दलित समुदायका मुद्दाहरूलाई उजागर गर्न र समाजमा समानता कायम गर्न भूमिका खेल्न संघले विशेष योजना अघि बढाउने बताइएको छ।

अधिवेशनमा प्रदेशभरका दलित पत्रकारहरूको उपस्थिति रहेको थियो। अधिवेशनले समुदायका समस्या, अवसर, र चुनौतीबारे गहन छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ। दलित पत्रकारहरूको सशक्तिकरण, उनीहरूको क्षमता अभिवृद्धि, र अवसरहरूको सिर्जना गर्न संघले विशेष योजना अघि सार्ने योजना बनाएको छ।
नयाँ कार्यसमितिले अबका दिनमा प्रदेशभरिका पत्रकारहरूसँग सहकार्य गर्दै समाज परिवर्तनमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय