
उर्लाबारी, २९ पुष २०८१
मोरङको उर्लाबारी–३, मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले आजदेखि सीटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ।
कोशी प्रदेशका स्वास्थ्य मन्त्री माननीय भुपेन्द्र राईको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा सीटी स्क्यान सेवाको औपचारिक उद्घाटन गरिएको हो। यो सेवाको शुरूवात संगै स्थानीय र वरपरका क्षेत्रका बिरामीहरूले समयमै रोगको पहिचान गरी छिटो र प्रभावकारी उपचार पाउनेछन्।
कार्यक्रममा कोशी प्रदेश संसद उमाकान्त गौतम, बिद्या चाम्लिङ, र सोभा चेम्जोङ पालुङ्वा विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
साथै, स्थानीय सरकारका प्रमुख, छिमेकी नगरपालिकाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अस्पतालले यो सेवा सुरु गरेसँगै आकस्मिक र गम्भीर रोगहरूको उपचारमा महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ। अत्याधुनिक उपकरण र सेवाहरू मार्फत बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको मदन भण्डारी अस्पतालले यो नयाँ सुविधा मार्फत आफ्नो सेवा स्तरलाई अझ उच्च स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका अध्यक्ष अजम्बर राईको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो।