उर्लाबारी, माघ १६
सोनाम ल्होछार (डूल ल्हो – सर्प वर्ष) को अवसरमा उर्लाबारी–५ स्थित नेपाल बौद्ध गुम्बामा विशेष कार्यक्रम आयोजना गरिएको छ।
नेपाल तामाङ घेदुङ नगर कार्यसमिति, वडा घेदुङ तथा नेपाल बौद्ध गुम्बाको संयुक्त आयोजनामा माघ १५ गतेबाट शुरू भएको कार्यक्रमको दोश्रो दिन आज विविध कार्यक्रमहरुका साथ सम्पन्न भएको छ।
आज माघ १६ गते विशेष रूपमा औंसीका दिन पितृ उद्धार तथा सन्तानको सु–स्वास्थ्य र प्रगतिका लागि पूजापाठ, बत्ती बाल्ने, छो मार्ने कार्य सम्पन्न गरियो। पूजापाठपछि बिहान ११ बजेबाट खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम सुरु भएको थियो, जसमा म्युजिकल चेयर, हाडी फुटाई, बिष्कुट खाने प्रतियोगिता र कविता वाचनलगायतका कार्यक्रमले आकर्षण थपेका थिए।
कार्यक्रममा स्थानीय तामाङ समुदायका साथै अन्य जातजातिका व्यक्तिहरूको समेत उत्साहजनक सहभागिता देखिएको थियो।
ल्होछार महोत्सवको मुख्य कार्यक्रम माघ १७ गते हुने छ, जसमा विविध सांस्कृतिक नृत्य, शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण गरिनेछ। साथै, द भ्वाइस किड्सकी चर्चित गायिका छेसाङ तामाङको विशेष प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
नेपाल तामाङ घेदुङ नगर कार्यसमिति, उर्लाबारीका अनुसार यो महोत्सवले स्थानीय तामाङ समुदायको संस्कृतिलाई उजागर गर्नुका साथै विभिन्न समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने अवसर प्रदान गर्नेछ।