दिपेन्द्र बराईली
माघ -१६ , मोरङ
अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष पदमा अभिमन्यु यादवले ५७५ मत प्राप्त गर्दै भारी मतान्तरसहित विजयी भएका छन्। संगठनभित्र सुधार, सशक्त विद्यार्थी आन्दोलन, र शिक्षामा समान अवसरका पक्षधरका रूपमा परिचित यादवको नेतृत्वलाई मतदाताले ठूलो विश्वासका साथ अनुमोदन गरेका छन्।
उनले आफ्नो विजयपछि संगठनलाई थप सशक्त बनाउन, शिक्षालाई वैज्ञानिक, गुणस्तरीय र समान पहुँचयुक्त बनाउन निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यादवले विशेष रूपमा निःशुल्क तथा सर्वसुलभ शिक्षा, निजीकरण र व्यापारीकरणको अन्त्य, शिक्षामा श्रमजिवी वर्गको पहुँच वृद्धि, र भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्ने बताएका छन्।
मतदानमा सहभागी सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै यादवले संगठनलाई थप उचाइमा पुर्याउन सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। उनका समर्थकहरू यो जितलाई शिक्षा सुधार तथा विद्यार्थी हकहितको जितका रूपमा लिइरहेका छन्। अबको कार्यकालमा उनले विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।