
उर्लाबारी – सन् २०२० मा स्थापना भएको रोट्र्याक्ट क्लब अफ उर्लाबारी आज आफ्नो छैटौँ वर्षमा प्रवेश गरेको छ। छोटो अवधिमै क्लबले उल्लेखनीय उपलब्धि हासिल गर्दै समाजमा युवाको नेतृत्व, सेवा र सञ्जाल निर्माणको केन्द्रबिन्दु बन्न सफल भएको छ।
चार्टर अध्यक्ष रोट्र्याक्टर सञ्जय बाहेतीको नेतृत्वमा सुरु भएको क्लबले पाँच वर्षको यात्रामा विभिन्न आयाममा प्रभावकारी काम गरेको छ। शिक्षा सहयोग, स्वास्थ्य शिविर, वातावरणीय संरक्षण, व्यावसायिक विकास तालिम, सामाजिक सचेतना कार्यक्रमदेखि लिएर अन्तर्राष्ट्रिय स्तरका सम्पर्क र भागीदारीसम्म क्लब सक्रिय रह्यो।
यस यात्रामा विभिन्न अध्यक्षहरूको नेतृत्वमा क्लबले निरन्तर उचाइमा पुग्ने काम गरेको छ :
रोट्र्याक्ट वर्ष २०–२१ : रोट्र्याक्टर संजय बाहेती (चार्टर अध्यक्ष)
रोट्र्याक्ट वर्ष २१–२२ : रोट्र्याक्टर गोपाल डाँगी
रोट्र्याक्ट वर्ष २२–२३ : रोट्र्याक्टर किशन अतल
रोट्र्याक्ट वर्ष २३–२४ : रोट्र्याक्टर सुनिल सुवेदी
रोट्र्याक्ट वर्ष २४–२५ : रोट्र्याक्टर अंकुश अग्रवाल
रोट्र्याक्ट वर्ष २५–२६ : रोट्र्याक्टर हेमराज बस्नेत (हालका अध्यक्ष)
क्लबले रक्तदान कार्यक्रम, वृक्षारोपण, सामुदायिक स्वास्थ्य जागरण, युवाका लागि व्यवसायिक तालिम, विद्यालयस्तरका प्रतियोगिता लगायत १०० भन्दा बढी गतिविधि सम्पन्न गरी समाजमा स्थायी छाप छोडेको छ।
हालका अध्यक्ष रोट्र्याक्टर हेमराज बस्नेतले भने,
“पाँच वर्षको सफल यात्रापछि हामी छैटौँ वर्षमा प्रवेश गरेका छौँ। यो हाम्रो लागि नयाँ ऊर्जा, नयाँ संकल्प र अझ ठूलो जिम्मेवारी बोकेको क्षण हो। आगामी दिनमा उर्लाबारी र यसका वरपरका क्षेत्रमा अझ धेरै प्रभावकारी कार्यक्रम ल्याउने हाम्रो लक्ष्य छ।”
स्थापना कालदेखि अहिलेसम्म क्लबसँग आबद्ध सबै सदस्य, पूर्वअध्यक्ष, सहयोगी संस्था र शुभेच्छुकहरूप्रति क्लबले आभार प्रकट गरेको छ।
रोट्र्याक्ट क्लब अफ उर्लाबारीले अबको यात्रालाई “समाजमा दिगो परिवर्तन र युवा नेतृत्व विकास” को मूल मन्त्रसहित अघि बढाउने जनाएको छ।