उर्लाबारी,
रोटर्याक्ट क्लब अफ उर्लाबारीले संस्था स्थापना भएको वर्षदेखि नै जाडोबाट प्रभावित विपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै निरन्तर रूपमा “आहा चिसो” न्यानो अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै अभियानको छैटौँ संस्करण “आहा चिसो ६.०” भव्य रूपमा सम्पन्न गरिएको छ।
“आहा चिसो ६.०” न्यानो अभियान २०८२ साल पौष १४ गते मिक्लाजुङ गाउँपालिका–१, मोरङस्थित श्री महाभारत आधारभूत विद्यालयमा सम्पन्न भयो। कार्यक्रममा विद्यालयमा अध्ययनरत ८७ जना विद्यार्थीहरूलाई जाडोयाममा आवश्यक न्यानो कपडा वितरण गरिएको थियो, जसले चिसो मौसममा उनीहरूको पठन–पाठनलाई सहज बनाउने विश्वास क्लबले लिएको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यालयका प्रधानाध्यापक श्री श्याम पौडेल, रोटर्याक्ट क्लब अफ उर्लाबारीका अध्यक्ष अंगम बस्नेत (हेमराज) तथा क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा प्रधानाध्यापक श्री श्याम पौडेलले रोटर्याक्ट क्लबले विगतदेखि गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै सामाजिक सेवामा युवाहरूको सक्रियता उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, क्लबका अध्यक्ष अंगम बस्नेतले अभियानको उद्देश्यबारे प्रकाश पार्दै आगामी दिनहरूमा पनि शिक्षा क्षेत्र तथा समुदाय लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“आहा चिसो ६.०” न्यानो अभियान केवल कपडा वितरणमा सीमित नभई युवाशक्तिको सामाजिक उत्तरदायित्व, शिक्षा र मानवीय सेवाप्रतिको समर्पणको प्रतीक बनेको क्लबले जनाएको छ।

