काठमाडौं
दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार काठमाडौं आए भनी केही नेपाली मिडियामा शनिबार समाचार आयो। समाचार आएपछि नेपालका सुरक्षा निकायहरुमा हल्लीखल्ली मच्चियो। परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु पनि अचम्मित भए। किनभने दुबईका राजकुमार नेपाल आउँदैछन् भन्ने उच्च तहमा कसैलाई थाहा थिएन। दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्छ। उच्च सुरक्षा दिनुपर्ने हुन्छ। राजकुमारको स्वागतमा मन्त्री तहका व्यक्ति तथा उच्च अधिकारीहरु विमानस्थलमा पुग्नुपर्ने हुन्छ। तर, झापाका अस्पताल मालिक दुर्गा प्रसाईंले राजकुमारलाई स्वागत गरेको फोटो मिडियामा आयो। ‘दुबईका राजकुमार जस्तो उच्च व्यक्तित्व नेपालको पराराष्ट्र मन्त्रालयलाई जानकारी नदिई कसरी आउनुभयो? हामी छक्क परेर सोधखोजमा लाग्यौं’, परराष्ट्रका एक उच्च अधिकारीले भने। अचम्म त के भने दुबईका क्राउन प्रिन्स राजकुमार आफ्नो निजी विमानमा मात्र उडान गर्छन्। तर, यी राजकुमार भने सर्वसाधारणझैं यात्रु विमानबाट काठमाडौंको विमानस्थलमा उत्रिएका थिए। पछि बुझ्दै जाँदा थाहा भयो– दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुनुहुन्छ। नेपाल आए भनिएका राजकुमारको नाम चाहिँ शेख मोहम्मद मक्तुम जुमा हो। परराष्ट्र मन्त्रालयका अधिकारीहरुले तत्काल साउदी अरेबियास्थित नेपाली दूतावासलाई पनि सोध्यो। दूतावासले नेपाल आएका र दुर्गा प्रसाईंले स्वागत गरेका व्यक्ति दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार होइन भन्यो। नेपालका कैयन मिडियाहरुले कुरै नबुझी राजकुमार आएको समाचार कसरी दियो? परराष्ट्र मन्त्रालयले सोधीखोजी थालेको छ। सरकारी समाचार एजेन्सी राससले कुरै नबुझी समाचार प्रवाह गरेकाले पनि दुबईका राजकुमार नेपाल आए भनी भ्रमपूर्ण समाचार धेरै मिडियामा आएको हो। वास्तवमा नेपाल आएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुन् तर त्यहाँको शक्तिशाली राजकुमार भने होइनन्। दुबईको जनसंख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ। प्राय सबैले आफूलाई राजकुमार भन्ने गर्छन्। त्यस्तै मध्येका एक राजकुमार नेपाल आएको बुझियो। दुबईका वास्तविक क्राउन प्रिन्स आएका भने होइनन्। दुबईका क्राउन प्रिन्स नेपालको एउटा निजी अस्पतालको साधारण सिटी स्क्यान मेसिन उद्घाटन गर्न आउनु पत्याइनसक्नुको कुरा थियो। दुबईका क्राउन प्रिन्स आएकोझैं गरेर हल्ला गरेपछि केही मात्रामा नेपालमा अवैध रुपमा सुन समेत भित्राइएको आशंका गरिएको छ। कथित राजकुमारले दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएको प्रचार गरिएको छ। सुनको लौरो दिएको हो भने विमानस्थलबाट कसरी नेपाल भित्रियो? जबकी भन्सार नतिरी ५० ग्रामभन्दा धेरै सुन नेपाल ल्याइँदैन। दुर्गा प्रसाईंले उपहार पाएको भनिएको सुनको लौरोको भन्सार तिरिएको छ कि छैन भन्ने प्रश्न उठेको छ।