पुजन दास
असार ६, दमक
झारफुकको बहानामा झापाको दमकमा एक किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक–१० मा १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ४१ वर्षीय गोपाल गौतमलाई प्रहरीले पक्राउ गरेको हो । उनले ती बालिकालाई झारफुक गर्ने बहानामा खोलामा लगेको जवरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । बालिकामाथी गत जेष्ठ २६ गते राति जबरजस्ती करणी भएको थियो । घटनाको बारेमा खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घटना कसरी घट्यो..?
गत जेष्ठ २६ गते पीडित बालिकाका काकालाई झारफुक गर्ने भन्दै अभियुक्त गौतम बालिकाको घरमा धामी बस्न गएका थिए । रातिको ११ बजेसम्म उनले त्यहा धामी बसे । उनले त्यतिबेलासम्म सबैको जोखना हेरिसकेका थिए । जोखना हेर्दै गर्दा पीडित बालिकालाई कोही कसैले मोहनी मन्त्र लगाएको कुरा जोखनामार्फत झाँक्रीले सुनाए ।
बालिका केही समय अघिदेखि बिरामी परेकाले घरपरिवारले समेत झाँक्रीको कुरामा बिश्वास गरे । झाँक्रीले पीडित बालिकाको शरिरमा रहेको मोहनी (भुत) भगाउन खोला जानुपर्ने बताए । त्यसै अनुरुप बालिकालाई एक्लै खोलामा लगे । परिवारका अन्य सदस्यहरुले भुत भगाएको हेर्न नहुने र हेरेमा सबै मानसिक रोगी हुने झाँक्रीले बताएका थिए । बालिकाका अभिभावक डराए र झाँक्रीले भने अनुरुप नै सबै माने । झाँक्रीले बालिकालाई खोलामा लिएर गए त्यही समय बालिका माथी जवरजस्ती करणी गरे ।
झाँक्रीको पोल यसरी खुल्यो
झाँक्रीको धाकधम्कीले डराएकी बालिकाले आफ्नो पीडा कसैलाई भन्न सकिनन् । उनलाई डर थियो झाँक्रीले आफ्नो परिवारलाई बर्बाद पार्छ भन्ने । त्यसैले उनी चुपचाप बसिरहिन् । घटना भएको २ दिन पछिको कुरा पीडित बालिकाकै साथी बिमारी परिन् । छोरी बिमारी भएपछि उक्त परिवारले झारफुक उपचार गर्न तीनै झाँक्रीलाई बोलाउने निधो ग¥यो ।
आफ्नो साथीलाई उपचार गर्न त्यही यौन पिपासु झाँक्री आउने कुरा थाहा पाएपछि पीडित बालिका साथीको घर पुगिन् । झाँक्रीले आफु माथि जवरजस्ती करण गरेको कुरा साथीलाई सुनाईन् । र, भनिन्–‘ तिमिलाई पनि त्यो झाँक्रीले जवरजस्ती करणी गर्न सक्छ तिमी नजाउ है खोला ।’ पीडित बालिकाले सुनाएको कुरा उनकी साथीले आमालाई सुनाईन् । त्यसपछि पीडित बालिकाको आमालाई घटनाको बारेमा जानकारी भयो । घटनाको सबै कुरा थाहा पाए लगत्तै उनले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिइन् ।
प्रहरीले घटनाका अभियुक्तलाई म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।