हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

२०७९ असार १०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

इटहरीः खोटाङको जन्तेढुङ्गा गाउँपालिका ५, चिसापानी घर भई सुनसरीको इटहरी उपमहानगरपालिका १६, बालग्राम चौक बस्दै आएकी ७७ वर्षीया हजुरआमा तुलसा खड्काको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका नातिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतकका नाति हरि खड्का रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुसार अभियुक्त हरिले हजुरआमा तुलसालाई गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा मतदानका लागि वैशाख २६ गते खोटाङतर्फ जाने बेलामा बाटैमा हत्या गरेका थिए । हत्या गरी फरार रहेका हरिलाई भारतको पश्चिम बङ्गाल राज्यस्थित सिलगुढीबाट प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । मृतक तुलसाको शव वैशाख ३१ गते खोटाङको बराहपोखरी गाउँपालिका ५, पौवासेरास्थित सुनकोसी नदीको किनारमा फेला परेको थियो ।

बेवारिसे अवस्थामा फेला परेको शव बुझ्न कोही पनि नपुगेपछि प्रहरीले उदयपुरको बेल्टारमा पोस्टमार्टम गरी जेठ २ गते दाहसँस्कार गरिदिएकोमा जेठ १८ गते मृतकले लगाएको साडी, चोलो लगायतका माध्यमबाट उनकी भतिजी लक्ष्मी खड्काले आफ्नी ठूलीआमाको पहिचान गरेकी थिइन् । अभियुक्त हरि भने शवको सनाखत गरिनुअगावै जेठ १० गतेदेखि फरार थिए । आफ्नी ठूलीआमाको हत्या भएपछि विगत एक वर्षदेखि आफ्नो संरक्षणमा राख्दै आएकी भतिजी लक्ष्मीले नै मृतकका नातिविरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि हरिको खोजीमा लागेको प्रहरीले अन्ततः उनलाई ७ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय