दिपक बास्तोला
श्रावण २, उर्लाबारी
नेकपा एमालेका उर्लाबारी नगर अध्यक्ष गंगा प्रसाद बास्तोला र कार्यपालिका सदस्य सुनील धिमालले स्थानीय निर्वाचन ताका परिचालित विद्यार्थीलाई आर्थिक प्रलोभनमा पारेर निशुल्क काम लगाएको खुलेको छ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता सुनील धिमालले चुनाव आउनु दुई महिनाअघि सरकारी क्याम्पस र विद्यालयमा गएर अनेरास्ववियुको कमिटी गठन गरेका थिए।
सोही कमिटीमा आवद्ध गराउँदा नै धिमालले विद्यार्थीलाई चुनावका बेला सानोतिनो काम दिन आश्वासन दिएका थिए। चुनावको मिति घोषणा भएपछि धिमालले बारम्बार विद्यार्थीबीच गएर प्रचारमा सहयोग गरे वापत पैसा दिने आश्वासन बाढेका थिए।
जब चुनावको प्रचारप्रसार सुरू भयो, त्यसपछि विद्यार्थी परिचालनका विषयमा एमाले नगर अध्यक्ष बास्तोला र विद्यार्थी नेता धिमालबीच पैसामा मोलमोलाई सुरू भयो।
स्रोतका अनुसार, बास्तोलाले विद्यार्थी परिचालन गर्न दैनिक नगद दुई सय र खाजा बापत चना चिउरा खुवाउने भनेका थिए। तर, धिमालले मेयरका उम्मेदवार गंगाप्रसाद खरेलसँग सिंधै डिल गरेर दैनिक ५०० सय नगद र २०० खाजा खर्च दिने व्यवस्था मिलाए।
एमाले निकट स्रोत भन्छ- कांग्रेस आन्तरिक लडाइँले थिलथिलो भएको भए पनि बास्तोलाले खरेल उर्लाबारीको मेयर बन्लान भनेर कल्पना गरेका थिएनन्।त्यसैले बास्तोला चुनावमा खर्च गर्न डराउँथे।तर, धिमाललाई भने खरेलका पैसा ‘उल्फाको धन’ जस्तै थियोे।
उनले ढाडस दिँदै जित्न लागेको चुनाव विद्यार्थी परिचालन नगरे हारिने रिपोर्टिङ गरिदिए। धिमालकै रिपोर्टिङका आधारमा राधिका मावि, उर्लाबारी बहुमुखी , सुनपकुवा मावि र अरनिको माविका छात्राहरूलाई मतदान गर्न सिकाउने बहाना बनाएर सुर्यमा सात छाप लगाउन प्रशिक्षण दिन घरदैलो पठाए।
खरेलले चुनाव परिचालनका लागि गंगाप्रसाद बास्तोलालाई १ करोड रूपैयाँ दिएको चर्चा उत्तिबेलै चिया दोकानमा सुनिएको थियो। सोही कुरा सुनेका सुनीलले बास्तोलाले गरेको चुनावी खर्चको अनुगमन पनि हुने र आफ्ना साथीहरूले दुई चार पैसा पनि पाउने गरि विद्यार्थीलाई घरदैलोमा परिचालन गरे।
विद्यार्थीहरूले पनि घरदैलोमा पुगेर सुर्यमा मतदान गर्न सिकाए।सुर्य मात्रै भएको नमुना मतपत्रमा स्वस्तिक लगाउन सिकाउने ३० जना विद्यार्थीले नगरका नौ वटै वडामा पुगेर मतदान गर्न सिकाए।
धिमालले दिएको प्रशिक्षण अनुसार कुन घरका मतदाता कुन चिन्हमा मतदान गर्छन् र किन सुर्यमा भोट दिँदैनन्। सुर्यमा मत दिन्नौ भन्नेहरूको नाम र मोबाइल नम्बर समेत टिपेर उनीहरूले चुनाव परिचालन समितिको कार्यलयमा टेवुल गरे।
चुनावभरि भात पानी नभनी खटेकाहरूले दैनिक खाजाको २०० सय र भत्ता ५०० गरि ७०० रूपैयाँ कमाउने सपना बुनेका थिए। चुनाव सकिएपछि विद्यार्थीहरूले धिमालसँग पैसा दाबी गरे, तर धिमालले विद्यार्थीलाई उल्टो थर्काएर फोन काट्न थाले।
त्यसपछि विद्यार्थीहरूले गंगा बास्तोलालाई फोन गरे। बास्तोलाले पैसा सबै सुनीलले लगि सकेको र सुनीलसँगै माग्नु भन्दै फोन राखिदिए।
सुनीलले बास्तोलालाई र बास्तोलाले सुनीललाई देखाएर पन्छिन थालेपछि विद्यार्थीहरू पैसा पाउने आश मारेर मिडिया मार्फत आफ्ना कुरा राख्न थालेका हुन्।
एक विद्यार्थीले भनिन्, ‘आफन्तहरूले घाममा नहिड्न सल्लाह दिँदा पनि पैसाको प्रलोभनमा परेर हिडियो। न पैसा पाइयो, न खाजा खर्च? कहाँ गयो पैसा?’
खरेललाई जिताउन यो पटक उर्लाबारीका केही कांग्रेसको खोल ओढेका मारवाडीहरू पनि खुलेर लागेका थिए। प्रेमचन्द बाहेती र उनका दाजुले यो पटक खरेललाई आर्थिक सहयोग मात्रै गरेनन्। मत नै दिएर सहयोग गरे।
बाहेती परिवार सहित ठुला व्यापारीले खरेललाई दिएको सहयोग र खरेलले आफैँ जुटाएको चुनाव खर्च जोड्दा झण्डै २ करोड रूपैयाँ जुटेको थियो।त्यो पैसाको भान्से थिए, गंगा बास्तोला।
बास्तोलाले नै पाँच हजार खर्च गर्नुपर्ने ठाउँमा पाँच सयले काम चलाएर पैसा बचाएको केही एमाले नेताको भनाइ छ। विद्यार्थीहरू पनि त्यही घानमा परेका हुन्।
यसमा मेयरको कुनै दोष छैन। अझ सुनीलले त बास्तोला र खरेलसँग अलग-अलग दाम बुझेको स्थानीय एमाले कार्यकर्ताको दाबी छ।
यता विद्यार्थीहरू भने तोकिएको पैसा नपाए भण्डाफोर गर्ने अभियानमा छन्। ‘हामी ३० जना नै एमाले कार्यलयमा जान्छौं र कुरा राख्छौं। हाम्रो श्रमको मूल्य पाउनुपर्छ।अरू कुरा हामीलाई थाहा छैन’ एक छात्राले भनिन्।