
उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हाल्नु भएका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङले पछिल्लो समय लागूऔषध जालो तोड्न सक्रियपूर्वक काम गरिरहनुभएको छ ।
उर्लाबारी नगरमा लागूऔषध सेवन र कारोबार बढी हुने गरेको गुनासो बढेपछि विशेष योजना नै बनाएर उहाँले आक्रमक ढंगले लागि पर्नुभएको हो ।
गत बर्ष लागु औषधमा कुनै मुद्दा चलाइएको थिएन । जब प्रहरी निरीक्षक नेम्बाङले उर्लाबारीको कमाण्ड सम्हाल्नु भयो तब उर्लाबारी लागु औषध कारोबारीदेखि सेवनकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले लागुऔषध कारोबारीको सञ्जाल तोड्न बिशेष अभियान चलाएको छ । प्रहरीले एक महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम प्रहरीको फन्दामा परेका हुन् । प्रहरी निरीक्षक नेम्बाङले लागुऔषध विरुद्ध प्रहरीले अभियान नै चलाएको बताउनुभयो ।
‘लागुओषध कारोबारीहरुको सञ्जाल तोड्न हामीले आक्रमक रुपमा अभियान चलाएका छौं, त्यसबाट केही सफलता समेत मिलेको छ’ उहाँले भन्नुभयो ।
प्रहरीले एक दर्जन बढी लागुऔषधका मुद्दा चलाएको छ । गाँजा, ब्राउन सुगर, नियन्त्रित औषधि विक्रेता तथा प्रयोगकर्ता धमाधम पक्राउ गरिरहेका छन् ।
यस्तै, आइतबार उर्लाबारी–१ झारसादी स्थित दिपेश धिमालको घरमा नियन्त्रित लागू औषधको खरिद बिक्री भईरहेको भन्ने गोप्य सूचनाको आधारमा उर्लाबारी प्रहरीले प्रतिबन्धित औषधिसहित ४ जनालाई पक्राउ गरेको छ । नियन्त्रित औषधीहरु र नगद १९ हजार ६ सय सहित उर्लाबारी नगरपालिका वडा नं.१ बस्ने बर्ष २१ को दिपेश धिमाल, सोही ठाउँको बर्ष २० को मेघराज माझी, सोही ठाउँको बर्ष २० को धिरेन राई र उर्लाबारी नगरपालिका वडा नं.५ बस्ने बर्ष २१ को समिर बर्देवालाई पक्राउ गरिएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर मोरङमा बुझाईएको प्रहरीले जनाएको छ । सोमबार उर्लाबारी नगरपालिका वडा नं.३ थापाचोक स्थित प्रभु तामाङको घरमा नियन्त्रित औषधि बिक्री बितरण तथा ओसारपसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा २ जनालाई पक्राउ गरेको छ ।
उर्लाबारी नगरपालिका वडा नं.३ थापाचोक बस्ने बर्ष १८ को प्रभु तामाङ र पथरीशनिश्चरे नगरपालिका वडा नं.२ बस्ने बर्ष २० को बिबेक दर्नाललाई पक्राउ गरिएको हो । तामाङको घरकोठामा खानतलासीको क्रममा झोलाभित्र लुकाई छिपाई राखेको अबस्थामा नियन्त्रित औषधि भेटिएको र आवश्यक कार्वाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।