थारु समाज रतुवामाईको साँस्कृतिक कार्यक्रम २०८० भव्यताका साथ सम्पन्न

२०८० आश्विन २०, शनिबार
पढ्ने समय : < 1 मिनेट

दिपेन्द्र बराईली/ रतुवामाई

थारु समुदायले मनाउने जितिया पर्वको अवसरमा मोरङको रतुवामाईमा जितिया साँस्कृतिक कार्यक्रम २०८० आज भब्यताका साथ सम्पन्न भएको छ।

नगरपालिकाको वार्ड नं, ९ ठकठकियामा रहेको जनता मा.विको प्राङ्गणमा जितिया साँस्कृतिक कार्यक्रम २०८० सम्पन्न भएको हो।

थारु समुदायको जितिया पर्वको अवसरमा थारु समाज रतुवामाईले कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथि रतुवामाई नगरपालिकाका प्रमुख नागेश्वर प्रसाद सिंह रहनुभएको थियो ।

समाजले बर्सेनि साँस्कृतिक कार्यक्रम संचालन गर्दै आएको छ। गायक नन्दु गुरुङ र बुद्ध मुर्मुले कार्यक्रममा विभिन्न शैलीका गितहरु गाएर दर्शकहरुलाई नचाए भने हाँस्य कलाकार राकेश कमेडीले समसामयिक विषयमा हाँस्यव्यंग्य प्रस्तुत गरेर सबैलाई हँसाए। कार्यक्रममा आफ्नो जातिय भेषभुषामा सजिएर स्थानीय थारु युवायुवतीहरुले विभिन्न परिकारका कलाहरु प्रदर्शन गरेका थिए।

बिगत केहि बर्षदेखि आफ्नो भाषा, भेषभुषा, कला संकृति संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन यस्ता खाले कार्यक्रम निरन्तर गर्दै आएको रतुवामाई थारु समाजका संयोजक नरेश धामिले जानकारी दिनुभयो ।

सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिको कामना गर्दै रतुवामाईका थारू तथा मधेसी समुदायले जितिय पर्व मनाएका छन् । अस्ति बिहीवारदेखि विधिवतरुपमा शुरु भएको यो पर्वको आज शनिवार हर्षोल्लासका साथ समापन गरिएको हो।

ज्यातिषशास्त्र अनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछन। यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख, पीडा र समस्याबाट जोगाउँछ भन्ने विश्वास गरिन्छ । जितियालाई जीवित पुत्रिका व्रत पनि भनिन्छ ।

महिलाहरु व्रतको विधि पालना गर्दै पहिलो दिन नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, तोरीको तेल, पीना, सिन्दूर, , मेहन्दीको पात, फूलआदि चढाएर विधिपूर्वक ‘नहाय खाय’ गर्छन् । उपवासको पूर्वसन्ध्यामा मध्यरातमा दही च्युउरासँगै माछा र मरुवा अनिवार्य खाने चलन छ । दोस्रो दिन बिहान ४ बजेबाट निराहार बसी तेस्रो दिन विहान नवमी तिथि प्रारम्भ भएसँगै उपवास तोडेपछि जितिया व्रत सम्पन्न हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय