उर्लाबारी,
उर्लाबारीस्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक कारोवार ३ वर्ष यता लगातार ओरालो लागेको छ ।
आफ्ना नियमित बचतकर्ता नभएको सुदर्शन साकोसले विभिन्न स्किम देखाएर सर्वसाधरणसँग निक्षेप सङ्कलन गर्दै आएको छ । सुदर्शन साकोसको वासलात आर्थिक वर्ष २०७७÷०७८ मा ६९ करोड ४८ लाख रुपैयाँ थियो ।त्यसको १ वर्ष अघि वर्ष कोभिडले अर्थतन्त्र थलिएका बेला पनि ४९ करोडबाट एकै पटक ६९ करोड रुपैयाँको वासलात पु¥याएको सुदर्शनको त्यसपछि लगातार वासलात घट्दो छ । आर्थिक वर्ष ०७८/०७९ मा ६६ करोड ५० लाख रुपैयाँ वासलात पुगेको सुदर्शन साकोसको वासलात ०७९/०८० मा आइपुग्दा ६३ करोड ११ लाख रुपैयाँमा झरेको छ । वासलात मात्र होइन,संस्थाको शेयर पुँजी समेत लगातार ओरालो लागेको छ ।
गत वर्ष संस्थाको शेयर पुँजी ५ करोड ७७ लाख ४४ हजार ४ सय रुपैयाँ थियो । ०७९/०८० मा ५ करोड १५ लाख ९२ हजार ७०० रुपैयाँ भएको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ६२ लाख रुपैयाले कमि हो । संस्थाले ३ वर्ष यता शेयर, निक्षेप, कोष र शुद्ध बचतको लक्ष्य पुरा गर्न सकेको छैन । संस्थाको आन्तरिक खर्च बढ्दो छ । त्यति मात्र होइन संस्थाको नगद असार मसान्तमा समेत १ करोड ३५ लाख ४ हजार २३० रुपैयाँ मौज्दात देखिन्छ । वरिवरी २० वटा भन्दा बढी बैंक भए पनि संस्थामा नगद मौज्दात देखिनु भनेको त्यो पैसा कर्मचारीको जिम्मामा हो भन्ने बुझिन्छ । बैंकमा मौज्दात हुनुलाई सामान्य मानिन्छ , किनकी असार अन्तिम तिर असुल भएको पैसा लगानी गर्ने समय नरहन सक्छ । २ वर्ष अघि नगद मौज्दात १ करोड १५ लाख रुपैयाँ थियो । सहकारीको वोर्ड टाँगेर सर्वसाधरणका पैसा सङ्कलन गर्ने सुदर्शन सहकारीले नगद मौज्दातमा करोड भन्दा कमको लक्ष्य कहिलै राखेको छैन् । संकट पर्दा शेयर सदस्यलाई संस्थाको चेकबाट भुक्तान दिन सकिने बाटो हुँदा हुँदै नगद मौज्दात धेरै रहनु शंकास्पद मानिन्छ ।
कमजोर लेखा तथा सुपरिवेक्षण समितिले न कहिल्यै भल्ट निरीक्षण गर्छ न , कोषाध्यक्ष जिम्मेवार छन् । संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल सर्वेसर्वा रहेको सहकारी संस्थामा १० हजार १६ सदस्य रहेका छन् । सामान्यता सहकारी संस्थामा सदस्य बढेपछि शेयर पुँजी पनि बढ्छ । तर,२ वर्ष अगाडि ८ हजार ८२६ जना शेयर सदस्य रहेको संस्थामा ११ सय ९० जना सदस्य बढ्दा पनि शेयर पुँजी घटेको घट्यै छ । आर्थिक वर्षको अन्त्यको रिपोर्ट अनुसार संस्थाले लगानी गरेको कुल ऋण ५४ करोड २५ लाख ३३ हजार ११२ रुपैयाँ रहेको छ । जबकी संस्थाको शेयर पुँजी, कोषहरू र बचत निक्षेपको रकम ५४ करोड ६४ लाख ६० हजार ७६२ रुपैयाँ रहेको छ । असार मसान्तको तथ्याङ्क अनुसार संस्थाले २८ लाख ८८ हजार १८० रुपैयाँ शुद्ध बचत गरेको छ । जबकी अघिल्लो वर्ष ७० लाख ६५ हजार ८९४ रुपैयाँ शुद्ध बचत गरेको थियो । शुद्ध बचत अघिल्लो आर्थिक वर्षको भन्दा ४१ लाख ७७ हजार ७१४ रुपैयाँले कमी हो ? बाहिर जति सुकै राम्रो देखिएपनि सुदर्शनको गुदी बिग्रिदै गएको सहकारीका विज्ञहरू बताउँछन् ।
सहकारी संस्थाका छाता संघहरूमा समेत आवद्ध नरहेको सुदर्शन साकोसको पल्र्स विवरण पनि सन्तोषजनक देखिदैन । संस्थाको शेयर पुँजी कुल सम्पत्तिको १० देखि २० प्रतिशतको बिचमा हुनुपर्छ । सुदर्शनको शेयर पुँजी ८ दशमलव १७ प्रतिशत रहेको छ । यस्तै कुल सम्पत्तिको ७० देखि ८० प्रतिशत ऋण लगानी पर्नेमा संस्थाले ८५ दशमलव ८६ प्रतिशत ऋण लगानी गरेको छ । अधिकांश सुचक बिग्रिएको सुदर्शन साकोसको पुरै प्रतिवेदन हेरिसक्दा पनि सञ्चालक समितिका पदाधिकारी र सदस्यहरू को हुन् ? पैसा डुब्यो भने जवाफदेही को हुने? कसलाई सम्पर्क गर्ने कहि कतै उल्लेख छैन् । संस्थाका सचिव र कोषाध्यक्षको नाम समेत गोप्य राख्नुको कारण सदस्यहरूले खोज्न थालेका छन् । समूदायमा आधारित सहकारी संस्थाले आफ्नो प्रतिवेदनको दोस्रो पेजमा तस्विर र फोन नम्बर सहित नामावली राखेका हुन्छन् । तर, सुदर्शनका शेयर सदस्यले कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल बाहेक कसैलाई चिनेका छैनन् । पछिल्लो पटक यस्तै खालका सहकारीहरूले धेरैलाई उठिबास लगाइसकेका छन् । राज्यको कमजोर संयन्त्रको फाइदा उठाएर समूदायमा आधारित सहकारीहरूलाई चुनौति दिइरहेका यस्ता सहकारीले नत शेयर सदस्यलाई आर्थिक रुपमा समृद्ध बनाउन सक्छन् । न पैसाको नै सुरक्षा गर्न सक्छन् ।